समाचार

सीमा क्षेत्रमा एसएसबीको कारबाही : तस्करी आरोपमा १ नेपालीसहित ५ पक्राउ

भारत–नेपाल सीमा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तस्करीविरुद्धको कारबाही तीव्र बनाएको छ। पछिल्लो पटक मोतिहारीस्थित ७१औँ बटालियनले सीमा क्षेत्रमा गरेको छुट्टाछुट्टै कारबाहीबाट नेपाली मदिरा, खेलौना तथा कस्मेटिक सामग्री बरामद गर्नुका साथै तीन जनालाई पक्राउ गरेको छ।

एसएसबीका अनुसार डि कम्पनी कोरैयाको टोलीले गोप्य सूचनाका आधारमा पचपोकहरिया गाउँनजिक कारबाही गरेको थियो। सीमा स्तम्भ नम्बर ३७७/४ बाट करिब ४५० मिटर भारततर्फ गरिएको गस्तीका क्रममा नेपाली मदिरासहित पूर्वी चम्पारणको दरपा थाना क्षेत्रका २६ वर्षीय भरोष कुमार पक्राउ परेका हुन्। उनको साथबाट साइकलसमेत बरामद भएको छ।

पक्राउ परेका कुमार र बरामद सामग्रीलाई महुआवा प्रहरी चौकीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

त्यसैगरी जालगावाँ बीओपीको टोलीले सीमा स्तम्भ नम्बर ३६९ नजिकबाट नेपालबाट भारततर्फ लैजाँदै गरिएको १३.५ लिटर नेपाली मदिरा बरामद गरेको छ। सो क्रममा पूर्वी चम्पारणका १७ वर्षीय सुनील कुमार र २३ वर्षीय हेतलाल कुमार पक्राउ परेका छन्। उनीहरूलाई बरामद मदिरासहित जितना प्रहरी थानामा बुझाइएको छ।

खेलौना र कस्मेटिकसहित दुई जना पक्राउ

यसैबीच, एसएसबीको बी कम्पनी जमुनियाले भारतबाट नेपालतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको खेलौना तथा कस्मेटिक सामग्री बरामद गरेको छ।

झरोखर गाउँनजिक सीमा स्तम्भ नम्बर ३५७/३ बाट करिब ५० मिटर भारततर्फ गरिएको गस्तीका क्रममा पूर्वी चम्पारणका ३८ वर्षीय रणविजय कुमार र बाराको सिम्रौनगढका २८ वर्षीय मिराज आलम पक्राउ परेका हुन्।

उनीहरूको साथबाट रिमोट कन्ट्रोल कार, खेलौना ट्रक, ट्यांकर, डम्पर, गुडिया, टेडी बियर, बल, रेल, विमान, खेलौना बन्दुक, दूरबिनलगायत विभिन्न प्रकारका खेलौना बरामद भएको एसएसबीले जनाएको छ।

त्यस्तै, एभलोन, कलर, म्याटे, रूप सेभेन र नेल स्टुडियोलगायत ब्रान्डका नेल इनामेल तथा नेल पोलिस र विभिन्न प्रकारका लिपस्टिकसमेत बरामद गरिएको छ।

कारबाहीका क्रममा बीआर ०५ पीसी ११४५ नम्बरको भारतीय विद्युतीय रिक्सासमेत नियन्त्रणमा लिइएको छ। एसएसबीका अनुसार उक्त रिक्सा प्रयोग गरी बरामद सामान भारतको ढाकाबाट नेपालतर्फ सिम्रौनगढ लैजाँदै गरिएको थियो।

बरामद सामग्री, विद्युतीय रिक्सा र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि मोतिहारी भन्सार कार्यालयको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button