समाचार

हुथीविरुद्ध पूर्ण स्तरको युद्धको घोषणा: यमनी राष्ट्रपति अल-अलीमी

काठमाडौँ, १९ असोज । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीको कब्जामा रहेका सम्पूर्ण भूभाग फिर्ता लिने उद्देश्यका साथ पूर्ण स्तरको सैन्य कारबाही सुरु भएको घोषणा गरेको छ।

 

हालैका दिनहरूमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबिच भएका श्रृंखलाबद्ध आक्रमणहरूपछि यमनी राष्ट्रपति रशाद अल-अलीमीले यस्तो कडा कदमको घोषणा गरेका हुन्।

 

आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति अल-अलीमीले भने, "आज म गणतन्त्रको बाँकी भूभाग पुनः आफ्नो नियन्त्रणमा लिन तथा सम्पूर्ण राष्ट्रिय भूभागमा राज्य र यसका निकायहरूको अधिकार विस्तार गर्न सैन्य कारबाही सुरु भएको घोषणा गर्दछु।"

 

यसअघि इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण जलमार्ग मानिने 'बाब अल-मान्देब जलसन्धि' लगायत देशको तटीय क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका थिए। त्यसलगत्तै साउदी नेतृत्वको गठबन्धनले १२ घण्टाभित्र ५० पटक आक्रमण गरेको दाबी गर्दै हुथीहरूले त्यसको जवाफमा साउदीको राष्ट्रिय तेल कम्पनी 'आरामको' का विभिन्न स्थानहरूमा आक्रमण गरेको जनाएका थिए। साउदी अरबले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

 

हुथी विद्रोहीहरूको नियन्त्रणमा एक दशकभन्दा बढी समयदेखि रहेको यमनको राजधानी साना र उनीहरूको उत्तरी आधार क्षेत्र मानिने सादा लगायतका क्षेत्रमा सरकारी फौजहरूले सैन्य कारबाही तीव्र पारेका छन्।

 

यसैबिच, यमनको युद्धमोर्चा मुख्यतया ताइज सहर वरपर केन्द्रित बनेको छ। हुथीहरूले ताइजलाई यमनी सरकारको अन्तरिम राजधानी एडेनसँग जोड्ने महत्त्वपूर्ण आपूर्ति मार्ग अवरुद्ध पारेपछि ताइज सहर व्यावहारिक रूपमा घेराबन्दीमा परेको छ।

 

'च्याथम हाउस'का अनुसन्धानकर्ता फारिया अल-मुस्लिमीका अनुसार हुथीहरूले ताइजलाई पूर्ण रूपमा कब्जा नगरे पनि एडेनबाट अलग-थलग पार्ने सैन्य उद्देश्य भने हासिल गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button