समाचार

भारतबाट चकलेट तस्करीको आरोपमा ६ नेपाली पक्राउ, ९६० किलो बरामद

रौतहट, १८ असोज । भारतबाट नेपालतर्फ अवैध रूपमा चकलेट ल्याउँदै गरेको आरोपमा ६ जना नेपाली नागरिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा परेका छन्।

भारत–नेपाल सीमास्थित नायकटोला क्षेत्रमा शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

एसएसबीका अनुसार विशेष सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी बढाइएको थियो। सोही क्रममा साइकलमा सामान बोकेर नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि टोलीले उनीहरूलाई रोकेर जाँच गरेको थियो।

जाँच गर्दा ६ वटा साइकलमा २४ बोरा चकलेट फेला परेको एसएसबीले जनाएको छ। बरामद चकलेटको तौल करिब ९६० किलो रहेको बताइएको छ।

पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।

एसएसबीले उनीहरूले भारतबाट चकलेट नेपालतर्फ ल्याउँदै गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिसहित चकलेट र साइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ। सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार बढ्न नदिन एसएसबीले गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button