धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दाका ३ जना तथा ज्यान मार्ने उद्योग, डाँका र लागूऔषध मुद्दामा दोषी ठहर भएका ६ जना छन्।
प्रहरीका अनुसार पक्राउ परेका ९ जनाको हकमा अदालतबाट कुल ३६ वर्ष कैद र ३ लाख ६९ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले उनीहरूलाई शुक्रबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले फरार प्रतिवादी पक्राउ तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ।



