श्रमजीवी बहुउद्देश्यीय सहकारीको नयाँ भवनबाट कारोबार शुभारम्भ

कलैया, १६ असोज । श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कलैया उपमहानगरपालिका–१८, मोतिसर, बाराले सुविधासम्पन्न नयाँ कार्यालय भवनबाट विधिवत रूपमा कार्यालय हस्तान्तरण गरी कारोबार शुभारम्भ गरेको छ।
नयाँ कार्यालयबाट कारोबार शुभारम्भसँगै संस्थाले सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी सदस्यका सुझाव तथा गुनासो संकलन गरेको छ। कार्यक्रममा संस्थाले हालसम्म गरेका कारोबार, आगामी योजना तथा सेवा सुविधाका विषयमा सदस्यहरूलाई जानकारी गराइएको थियो।
संस्थाका प्रबन्धक सदाम हुसेन मन्सुरले संस्थाको वित्तीय कारोबार तथा आगामी कार्ययोजनाबारे सदस्यहरूलाई जानकारी गराउँदै सहकारीले सदस्यको सहजताका लागि नयाँ प्रविधिहरू भित्र्याएको बताउनुभयो।
उहाँका अनुसार संस्थाले मोबाइल बैंकिङ तथा नयाँ CBS (Core Banking System) प्रणाली सञ्चालनमा ल्याएको छ। उक्त प्रविधिमार्फत सदस्यहरूले घरबाटै KYM Update गर्ने, नयाँ सदस्य बन्ने तथा नयाँ खाता खोल्न सक्ने सुविधा प्राप्त गर्नेछन्।
प्रविधिको प्रयोगसँगै सहकारीका सेवा थप सहज, छिटो र सदस्यमैत्री बन्ने संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थासँग कारोबार गर्दै आएका विभिन्न वडाका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सदस्यहरूले संस्थाको नयाँ प्रविधि तथा सेवा विस्तारप्रति सुझाव दिँदै सहकारीको आगामी यात्राका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



