समाचार

पाकिस्तानस्थित ग्याङस्टर नेटवर्कसँग सम्पर्कको आरोपमा बिहारमा युवक पक्राउ

रौतहट, १२ असोज । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतिहारी जिल्लामा पाकिस्तानमा रहेको भनिएको ग्याङस्टर नेटवर्कसँग सम्पर्कमा रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

ढाका थाना क्षेत्रको विशरहिया गाउँनजिक आइतबार साँझ प्रहरीले आतंकवादविरोधी कारबाहीका क्रममा विशरहिया निवासी मोहम्मद सेयाज आलमलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आलमलाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट रेडमी एन्ड्रोइड मोबाइल फोन बरामद भएको छ। मोबाइलको प्रारम्भिक जाँच गर्दा आतंकवादी गतिविधिसँग सम्बन्धित भनिएका भिडियो, तस्बिर तथा कथित देशविरोधी सामग्री फेला परेको प्रहरीको दाबी छ।

मोतिहारीका एसपी स्वर्ण प्रभातका अनुसार वरिष्ठ प्रहरी अधिकारीको नेतृत्वमा प्रहरी टोली गाउँनजिक पुगेपछि आलम भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले पछ्याएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक सोधपुछ तथा मोबाइलमा भेटिएका डिजिटल सामग्रीको आधारमा आलम सामाजिक सञ्जालमार्फत पाकिस्तानमा रहेको भनिएको ग्याङस्टर शहजाद भट्टी नेटवर्कका कथित सदस्य अली गुज्जरसँग सम्पर्कमा रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जाल अकाउन्ट, मोबाइल डेटा, डिजिटल सामग्री तथा अन्य प्राविधिक प्रमाणको विस्तृत अध्ययन गरिरहेको जनाएको छ। यद्यपि पाकिस्तानस्थित भनिएको उक्त नेटवर्कसँग आलमको सम्पर्कको वास्तविक प्रकृति, उद्देश्य र उनको संलग्नताको स्तरबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

एसपी स्वर्ण प्रभातका अनुसार आलमका स्थानीय तथा बाहिरी सम्पर्कसमेत अनुसन्धानको दायरामा राखिएको छ। प्राप्त प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

कारबाहीमा डीएसपी अभिषेक कुमार, ढाका थानाका इन्स्पेक्टर राजरूप राय, अतिरिक्त थानाध्यक्ष, असई मोहम्मद खलील तथा जिल्ला प्रहरी कार्यालय मोतिहारीको डीआईयूका असई राहुल कुमार र असई कृष्णमोहन कुमारसहितको टोली सहभागी थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button