देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ । देउवा कांग्रेसले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ।
केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।
निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै सहमहामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ ।महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।




