पाकिस्तानमा आत्मघाती बम आक्रमणकारी परी मृत्यु हुनेकाे संख्या १२ पुग्याे
काठमाडौं, ११ असोज। शनिबार उत्तर-पश्चिमी पाकिस्तानको सडक छेउमा रहेको प्रहरी जाँच चौकीमा आत्मघाती बम आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारी साधन विस्फोट गराउँदा मृत्यु हुनेकाे संख्या कम्तीमा १२ जना पुगेकाे छ ।
र, अन्य ३० जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन्। यो आक्रमण खैबर पख्तुनख्वाको डेरा इस्माइल खान जिल्लामा भएको हो।
प्रहरीका अनुसार, मारिनेहरूमा भन्सार तथा अन्तःशुल्क विभागका दुई अधिकारीहरू पनि समावेश थिए। आक्रमणमा प्रयोग गरिएको विस्फोटक पदार्थको प्रकृति पत्ता लगाउन प्रहरीले घटनास्थलमा बम डिस्पोजल टोली खटाएको छ।
मृतक र घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ, जहाँ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दराजिन्दा स्टेसनका उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेका छन्; उनीहरूले घाइतेहरूलाई प्राथमिक उपचार प्रदान गरी अस्पताल पुर्याउने काम गरिरहेका छन्।
एक विज्ञप्तिमार्फत, 'तेहरिक-ए-तालिबान पाकिस्तान' (जसलाई पाकिस्तानी तालिबान पनि भनिन्छ) ले यस आक्रमणको जिम्मेवारी लिएको छ। यो समूह अफगानी तालिबानभन्दा अलग भए पनि उनीहरूसँग गठबन्धनमा रहेको छ; अफगानी तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएको थियो।
अधिकारीहरूका अनुसार, आत्मघाती बम आक्रमण भएको घटनास्थलमा पुगेको एम्बुलेन्समाथि पछि बन्दुकधारीहरूले गोली चलाए। प्रान्तीय आपतकालीन सेवाका प्रवक्ता बिलाल फैजीले यसको जानकारी दिएका हुन्। स्थानीय प्रहरी प्रमुख सफदर बलोचले बताए अनुसार मारिने र घाइते हुनेहरूमा अधिकांश सुरक्षाकर्मी र बटुवाहरू थिए।
यस महिना उक्त जिल्लामा पाकिस्तानी तालिबान संलग्न आक्रमण लगायतका सुरक्षासम्बन्धी घटनाहरू बारम्बार भइरहेका छन्। यो आक्रमण यस्तै प्रकृतिको अर्को घटना भएको एक साताभित्रै भएको हो; उक्त घटनामा आक्रमणकारीले अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित एउटा मस्जिदमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएका थिए। सो आक्रमणका कारण प्रहरी कार्यालयको बाहिरी पर्खाल भत्किएको थियो र मस्जिदमा नराम्ररी क्षति पुगेको थियो।
मस्जिदभित्र बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो भने ७८ जना घाइते भएका थिए। प्रहरी कार्यालय रहेको भवन नजिकै आक्रमण भएकाले मारिनेहरूमा १५ जना प्रहरी अधिकारीहरू पनि समावेश थिए।


