लालबकैया उर्लिँदै, मर्यादपुरमा तटबन्ध कटानको जोखिम

। लगातारको वर्षापछि लालबकैया नदीमा जलस्तर बढ्दै गएसँगै रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा तटबन्ध कटानको जोखिम बढेको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा तटबन्ध कटान भएर बाढी खेतबारी हुँदै बस्ती पस्न सक्ने स्थानीयको चिन्ता छ।
बाढी पूर्वानुमानसम्बन्धी सूचनाअनुसार आइतबार बिहान ४ः२६ बजे निजगढस्थित लालबकैया नदीमा जलस्तर १६२ सेन्टिमिटर मापन भएको थियो। उक्त स्थानमा १.५ मिटरलाई चेतावनी तह र २.५ मिटरलाई खतराको तह मानिएको छ।
बिहान ६ः२० बजेसम्म पनि नदीको बहाव बढिरहेको जनाइएको थियो। निजगढको तुलनामा मौलापुर क्षेत्र केही होचो भूभागमा रहेकाले माथिल्लो क्षेत्रमा पानीको बहाव थप बढे त्यसको असर मर्यादपुरसहित तल्लो तटीय बस्तीमा पर्न सक्ने स्थानीयको भनाइ छ।
मर्यादपुरमा तटबन्ध कटानको जोखिम बढेपछि मौलापुर नगरपालिकाका इन्जिनियर रामबाबु साहले वडा नम्बर १ देखि ५ सम्मका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। नदीको अवस्था निरन्तर निगरानी गर्न र जोखिम बढे तत्काल सुरक्षित स्थानतर्फ जान तयार रहन उनले आग्रह गरेका छन्।
तटबन्ध कटान भए आधा दर्जन गाउँ प्रभावित हुन सक्ने
स्थानीयका अनुसार मर्यादपुरस्थित तटबन्धमा कटान बढ्दै गएर बाँध भत्किएमा पानीको बहाव खेतबारी हुँदै आसपासका बस्तीमा पुग्न सक्छ। तटबन्धले थेग्न नसक्ने अवस्था आए मर्यादपुरसँगै आसपासका आधा दर्जन गाउँ डुबानको जोखिममा पर्न सक्ने स्थानीय बताउँछन्।
यसले तत्कालका लागि बस्ती सुरक्षासँगै धानलगायतका कृषि बालीमा समेत क्षति पुर्याउन सक्ने जोखिम बढाएको छ। अझै वर्षा जारी रहे नदीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त तटबन्धको तत्काल निरीक्षण, कटान रोकथाम र आवश्यक सुरक्षात्मक सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ।
स्थानीय तह र सुरक्षा निकायले नदीको जलस्तर तथा तटबन्धको अवस्था निरन्तर अनुगमन गर्दै जोखिम बढेमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने अवस्था देखिएको छ।





