समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली राजमार्ग, कर्णाली करिडोर, मध्यपहाडी र राप्ती राजमार्गसहितका विभिन्न सडकखण्डमा यातायात ठप्प भएको हो।

प्रहरीका अनुसार सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड–१ खच्चा, कालीकोटको शुभकालिका–१ स्थित गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल–७ औलिसेमा खसेको पहिरोले सडक अवरुद्ध पारेको छ।

त्यस्तै, रुकुम पश्चिमको सानीभेरी–२ सम्लेखोलामा पहिरो खस्दा मध्यपहाडी राजमार्ग र सल्यानको कपुरकोट–५ खारखोलामा खसेको पहिरोले राप्ती राजमार्ग बन्द भएको छ। सल्यानकै बनगाड कुपिण्डे–८ र्‍यालेमा सुर्खेत–सल्यान सडक र त्रिवेणी–३ ढुङ्गेबगरमा लुहाम–कालीमाटी सडकखण्ड पनि अवरुद्ध भएका छन्।

यसैगरी जाजरकोटको छेडागाड–४ लेवाभिर, कालीकोटको तिलागुफा–१ भिग्म, जुम्लाको तातोपानी–१ बाइराँका र राँकागाउँ जोड्ने सडक तथा मुगुको छायाँनाथ रारा–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्डमा समेत पहिरोले यातायात अवरुद्ध पारेको छ।

अवरुद्ध राजमार्ग तथा सडकखण्ड पुन: सञ्चालन गर्न जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतस्थित सडक डिभिजन कार्यालयहरूसँगको समन्वयमा जेसीबी तथा स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button