समाचार

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

 भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई रिकभरी एजेन्टले अपहरण गरी बन्धक बनाएको र जबर्जस्ती रगत निकालेर बेचेको आरोप लागेको छ।

लखनऊको राजारामखेड़ा मजरा पुरहिया निवासी नेवलले करिब एक वर्षअघि ‘जिरो डाउन पेमेन्ट’मा मोबाइल फोन खरिद गरेका थिए। मोबाइलको किस्ता बक्यौता रहेको भन्दै रिकभरी एजेन्टहरू उनको घरमा पुगेर फोनसमेत लिएर गएको पीडित परिवारको आरोप छ।

त्यसपछि गत ८ सेप्टेम्बरमा केही व्यक्तिले नेवललाई स्कुटीमा राखेर जबर्जस्ती लगेको परिवारले जनाएको छ। उनलाई बन्धक बनाएर जबर्जस्ती मजदुरीमा लगाइएको र पछि एउटा ब्लड बैंकमा लगेर शरीरबाट रगत निकालिएको आरोपसमेत परिवारले लगाएको छ।

पीडित परिवारका अनुसार मोबाइलको बक्यौता रकम भन्दै सुरुमा दुई हजार ७९९ रुपैयाँ अनलाइनमार्फत भुक्तानी गर्न लगाइएको थियो। रकम बुझाए पनि नेवललाई तत्काल रिहा नगरेको परिवारको भनाइ छ।

त्यसपछि आरोपितहरूले फोन गरेर थप १२ हजार ५०० रुपैयाँ मागेको र रकम नदिए नेवललाई ज्यान मार्ने धम्की दिएको परिवारले आरोप लगाएको छ।

घटनाबारे स्थानीय प्रहरीमा उजुरी गर्न खोज्दा सुनुवाइ नभएको र उल्टै धम्की दिइएको पीडितकी आमा जदूराईको गुनासो छ। त्यसपछि उनले लखनऊका डीसीपी दक्षिणी मोहम्मद मुश्ताकसमक्ष पुगेर न्यायका लागि निवेदन दिएकी छन्। डीसीपी मुश्ताकले घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ।

घटनामा लागेको आरोप पुष्टि भएमा यो सामान्य किस्ता असुलीको विषय मात्रै नभई व्यक्तिको स्वतन्त्रता, शारीरिक सुरक्षामाथिको गम्भीर अपराधको विषय बन्न सक्छ। ऋण वा ईएमआई असुलीका नाममा ग्राहकलाई जबर्जस्ती नियन्त्रणमा लिनु, धम्की दिनु वा शारीरिक क्षति पुर्‍याउनु कानुनी असुली प्रक्रियाभन्दा बिल्कुल फरक विषय हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button