विपत्तिमा नेपाललाई जनउद्धार केन्द्र मलेसियाको १० हजार रिंगेट सहयोग।

क्वालालम्पुर । नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जनउद्धार केन्द्र मलेसियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार मलेसियन रिंगेट आर्थिक सहयोग गरेको छ।
जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाका अनुसार तीज विशेष कार्यक्रमबाट संकलित रकम, संस्थागत सहयोग तथा पदाधिकारी र सदस्यहरूको व्यक्तिगत योगदानबाट उक्त रकम जुटाइएको हो। १० हजार रिंगेट नेपाली रुपैयाँमा करिब ३ लाख ७३ हजार ५ सय ५० रुपैयाँ बराबर हुने जनाइएको छ। 
अध्यक्ष थापाका अनुसार सहयोग रकममध्ये तीज विशेष कार्यक्रमबाट २ हजार ६ सय १० रिंगेट, जनउद्धार केन्द्रको संस्थागततर्फबाट २ हजार ४ सय ९७ रिंगेट तथा संस्थाका पदाधिकारी एवं सदस्यहरूको व्यक्तिगत योगदानबाट ४ हजार ८ सय ९३ रिंगेट संकलन गरिएको हो।
संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको केन्द्रले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले संस्थाले आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष थापाले बताए।
जनउद्धार केन्द्र मलेसियाले मलेसियामा समस्यामा परेका नेपाली नागरिकलाई उद्धार, राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीदेखि आपत्कालीन अवस्थामा सहयोग आवश्यक पर्ने समुदायका सदस्यसम्मलाई संस्थाले विभिन्न समयमा सहयोग गर्दै आएको केन्द्रको भनाइ छ।
केन्द्रका अनुसार जनउद्धार केन्द्र मलेसिया मलेसियामा नेपाली समुदायका लागि स्थापना भएको पहिलो वैधानिक संस्थाका रूपमा परिचित संस्था हो। संस्थाले सामाजिक तथा मानवीय सेवामार्फत मलेसियामा रहेका नेपाली समुदायसँगै मातृभूमि नेपालमा आइपर्ने विपत्तिका बेला पनि सहयोग गर्दै आएको जनाएको छ।
प्राकृतिक विपत्तिको पीडामा रहेका नेपाली नागरिकलाई राहत पुर्याउन विदेशमा रहेका नेपाली समुदाय तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम बढिरहेका बेला जनउद्धार केन्द्र मलेसियाको यो सहयोगले मानवीय ऐक्यबद्धताको सन्देश दिएको छ।



