मेलबर्न इन्द्रजात्राको तयारी तीव्र: इन्द्र भगवान् र गणेश रथ मुख्य आकर्षण, ९ हजार बढी सहभागी हुने

मेलबर्न, अष्ट्रेलिया
अष्ट्रेलियाको मेलबर्नमा नेवारी संस्कृति र सभ्यता झल्किने ऐतिहासिक पर्व ‘इन्द्रजात्रा (येँयाः पुन्हि) २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ। नेवाः गुठी भिक्टोरियाको आयोजनामा आगामी सेप्टेम्बर २६ मा आयोजना गर्न लागिएको उक्त जात्रामा यस वर्ष ९ हजारभन्दा बढी दर्शक तथा श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।
गत वर्ष ६ हजारभन्दा बढी नेपाली तथा स्थानीय अष्ट्रेलियाली नागरिकले अवलोकन गरेको यस जात्राप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आयोजक नेवाः गुठी भिक्टोरियाले यस वर्ष जात्रालाई अझ विस्तृत र भव्य बनाउने तयारी गरेको छ।
यस पटकको जात्रामा इन्द्र भगवान्को विशेष प्रतिमा रहनेछ भने नयाँ आकर्षणका रूपमा गणेश रथ थप गरी निर्माण गरिएको छ। यसका साथै जीवित देवी कुमारीको परम्परागत रथ यात्रा, श्वेत भैरव, मजिपाः लाखे र परम्परागत हात्ती ‘पुलू किसी’ को प्रदर्शन समेत जात्राका मुख्य आकर्षण रहनेछन्।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त उत्सवमा धिमेसहितका परम्परागत नेवारी बाजागाजा, सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। कार्यक्रम स्थलमा मौलिक नेवारी परिकारका स्टलहरू र पारिवारिक मनोरञ्जनका गतिविधिहरूसमेत समावेश गरिने आयोजकले जानकारी दिएका छन्।
काठमाडौँको ऐतिहासिक इन्द्रजात्राको झझल्को दिने गरी आयोजना गर्न लागिएको यस कार्यक्रमले प्रवासी नेपालीलाई आफ्नो मूल संस्कृतिसँग जोड्नुका साथै बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली पहिचान र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
शनिवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने उक्त जात्रामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।



