बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

काठमाडौं, २६ भदौ । सूर्यको सबैभन्दा नजिकको ग्रह 'बुध' मा देखिने विशेष प्रकारका खुम्चिएका धर्साहरूले यो ग्रह कुनै समय ठूलो आकारको रहेको र पछि खुम्चिएर सानो भएको सङ्केत गरेकाे छ ।

 

वैज्ञानिकहरूले अनुमान गरेभन्दा यो ग्रह अझ बढी खुम्चिरहेको हुनसक्ने नयाँ अध्ययनले देखाएको छ।

 

नासाका अनुसार सौर्यमण्डलको सबैभन्दा सानो यो ग्रह सूर्यबाट औसतमा ३ करोड ६० लाख माइल अर्थात ५ करोड ८० लाख किलोमिटरको दूरीमा छ। यसले सूर्यको वरिपरि एक पटक परिक्रमा गर्न ८८ दिन लगाउँछ।  

 

यो चट्टानी ग्रह करिब ४ अर्ब ५० करोड वर्षअघि ग्यास र धुलोको घुम्तीबाट बनेको हो। सौर्यमण्डलको प्रारम्भिक चरण निकै अस्तव्यस्त थियो; त्यसबेला सूर्यको परिक्रमा गरिरहेका असंख्य अन्तरिक्ष चट्टानहरू अन्य पिण्डहरूसँग ठोक्किने जस्ता हिंस्रक घटनाहरू हुने गर्थे। नयाँ बनेका ग्रहहरू ज्वालामुखीको लाभा जस्तै तातो हुने र यस्ता टक्करहरूले अझ बढी ताप उत्पन्न गराउने गर्थे। समयक्रममा ताप बाहिर निस्कँदै जाँदा बुध जस्ता ग्रहहरूको भित्री भाग संकुचित हुन पुगेको जनाइएकाे छ ।

 

बुधको फुटेको सतहमा यस्तै संकुचनका कारण विभिन्न दाग तथा भीरहरू बनेका छन्, जसमध्ये केही भीरहरू १ माइल अर्थात १.६ किलोमिटरसम्म अग्ला र सयौँ माइल लामा छन्।

 

यसैगरी क्षुद्रग्रह र धूमकेतुहरूको निरन्तरको प्रहार अर्थात बमबारीले बुधको सतहमा ठूला-ठूला खाडलहरू (क्रेटर) बनाएका छन्। 'जियोफिजिकल रिसर्च लेटर्स' जर्नलमा प्रकाशित नयाँ अध्ययन अनुसार ती प्रहारहरूबाट निस्किएका भग्नावशेषले बुध समयसँगै कति संकुचित भयो भन्ने वास्तविक तथ्याङ्कलाई ओझेलमा पारेको हुनसक्छ।

 

बुध ग्रह खुम्चिने दरबारे अध्ययन गर्दा यसको विकासक्रम र रहस्यमय भित्री बनावटबारे थप तथ्यहरू उजागर हुनसक्छन्।

 

अध्ययनमा संलग्न नरहेका मेरिल्याण्ड विश्वविद्यालयका सहायक अनुसन्धान वैज्ञानिक डा. ह्यानेस बर्नहार्ड्टका अनुसार पृथ्वीजस्ता चट्टानी पिण्डहरूको उत्पत्ति र विकासक्रमबारे बुझ्न बुध ग्रहको अध्ययन निकै महत्वपूर्ण छ।

 

आगामी नोभेम्बरमा बुधको कक्षमा दुईवटा अर्बिटर अर्थात परिक्रमा गर्ने यान पठाउने अभूतपूर्व मिसनले यस ग्रहका अनुत्तरित प्रश्नहरूको जवाफ दिनसक्ने अपेक्षा गरिएको छ।

 

बुध ग्रह खुम्चिँदै जाँदा यसको सतहमा एकनासका दरारहरू देखा परेका हुनुपर्छ। तर, अर्बौ वर्षदेखि भएका उल्कापिण्डहरूको प्रहारबाट उत्पन्न खाडल र धुलो-कण तथा चट्टानका टुक्राहरूले यीमध्ये धेरै दरारहरूलाई छोपिदिएका छन्। यो कुरा बर्लिनस्थित जर्मन एयरोस्पेस सेन्टरको 'इन्स्टिच्युट अफ स्पेस रिसर्च' का ग्रह वैज्ञानिक तथा अध्ययनका मुख्य लेखक गाकु निशियामाले बताएका हुन्।

 

सूर्यसँगको निकटताका कारण बुध ग्रहको अध्ययन र अन्वेषण चुनौतीपूर्ण बनेको छ। विगतका दशकहरूमा यस कठोर वातावरणमा केवल दुईवटा मिसनहरू मात्र पुगेका छन्: सन् १९७४ मा नासाको 'मरिनर १०' र सन् २०११ मा सोही संस्थाको 'मेसेन्जर' मिसन।

 

मरिनर १० ले ग्रहको नजिकबाट उडान भर्दै बुध ग्रहका रोचक 'खुम्चिएका धर्साहरू' पत्ता लगाएको थियो भने मेसेन्जरले ग्रहका विशेषताहरूको अझ विस्तृत र समग्र तस्बिर प्रदान गरेको थियो। बुध ग्रहको खुम्चिने प्रक्रियाबारे अध्ययन गरिरहेका वैज्ञानिक बर्न्हार्डका अनुसार निशियामा र उनको टोलीले मेसेन्जरबाट प्राप्त तथ्याङ्क प्रयोग गरी बुध ग्रहको सतहको खस्रोपनको विश्वव्यापी नक्सा तयार पारेका हुन्।

 

अध्ययनका क्रममा उनीहरूले सतहका चिल्ला भागहरूको तुलनामा खस्रा भागहरूमा यस्ता धर्साहरू कम देखिएको तथ्य फेला पारे। बुध ग्रहका सामान्यतया चिल्ला देखिने ज्वालामुखी मैदानहरूमा खुम्चिँदा बनेका धर्साहरू प्रस्ट देख्न सकिन्छ।

 

"यसले हामीलाई खुम्चिँदा बनेका संरचनाहरूलाई लुकाउने प्रक्रियाबारे अध्ययन गर्न बाध्य बनायो," निशियामाले भने। उदाहरणका लागि सतहमा खुम्चिएको सङ्केतलाई मलबेले छोपिदिनु।

 

यदि धुलाेले नछोपेको भए बुध ग्रहको सतहमा कति धर्साहरू हुन सक्थे भन्ने अनुमान टोलीले लगाएको छ। नयाँ गणना अनुसार यो ग्रह पहिले अनुमान गरिएभन्दा १०% देखि ३०% सम्म बढी खुम्चिएको हुनसक्छ, जसको अर्थ यसको अर्धव्यास मा करिब ७.२ माइल (११.६ किलोमिटर) को परिवर्तन हो। यसअघिका अध्ययनहरूले भने अर्धव्यासमा ०.६ देखि १.२ माइल (१ देखि २ किलोमिटर) वा बढीमा ४.३ माइल (७ किलोमिटर) सम्म मात्र परिवर्तन भएको हुनसक्ने अनुमान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *