बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान

सञ्जय मिश्रा
रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट फैलिने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रशासनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर (QR) कोड वा लिंक आधिकारिक भए-नभएको यकिन गर्न अनुरोध गरेको छ। विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले नक्कली क्यूआर, बैंक खाता र सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्न सक्ने भएकाले रकम जम्मा गर्नुअघि स्रोतको आधिकारिकता अनिवार्य रूपमा जाँच्न भनिएको छ।
त्यस्तै, बाढी-पहिरोबाट प्रभावित तथा पीडित व्यक्तिहरूको विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जाल एवं अनलाइन प्लेटफर्महरूमा पोस्ट नगर्न पनि प्रशासनले अपिल गरेको छ। यसअघि राखिएका त्यस्ता सामग्री तत्काल हटाउनसमेत आग्रह गरिएको छ।
विपद्का बेला पीडितको संवेदनशीलता र गोपनीयताको सम्मान गर्नु सबैको दायित्व भएको प्रशासनको भनाइ छ। दुःखद घटनाका विभत्स दृश्य अनावश्यक रूपमा सामाजिक सञ्जालमा फैलाउँदा पीडित परिवारमा थप मानसिक आघात पुग्ने र ती सामग्रीको गलत प्रयोग हुन सक्ने जोखिम रहन्छ।
यसैगरी, विपद्को समयमा भ्रमपूर्ण, अपुष्ट सूचना तथा अफवाह नफैलाउन प्रशासनले सचेत गराएको छ। आधिकारिक निकायबाट पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा शेयर गर्दा उद्धार तथा राहत कार्यमा द्विविधा सिर्जना हुन सक्ने उल्लेख छ।
विपद्का बेला सहयोग गर्नु मानवीय दायित्व भए पनि सहयोगका नाममा हुने ठगी र अपुष्ट सूचनाको प्रसार रोक्नु उत्तिकै आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्ना आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा कुनै पनि सामग्री पोस्ट गर्नुअघि सत्यता जाँच्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अपिल गरेको छ।



