अन्तर्राष्ट्रियगैर आवासीय नेपाली संघ “एनआरएनएसमाचारसमाज

देश रोएका बेला प्रवासबाट एनआरएनए पुर्व अध्यक्ष आरके शर्माद्वारा २५ लाखको मलम, आफुहरु जहाँ भए पनि देशकै साथमा रहेको घोषणा

बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा जुट्न विश्वभरका नेपालीलाई अपिल

काठमाडौँ, मातृभूमि विपत्तिमा पर्दा भौगोलिक दूरीले जिम्मेवारी रोक्दैन भन्ने सन्देश दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
शर्माको नेतृत्वमा कतारमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि शर्माले राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग गरेका हुन्।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शर्माले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई विपत्तिको सामना गर्ने धैर्य र शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

शुक्रबार जारी विज्ञप्तिमार्फत शर्माले आफूले गरेको २५ लाख रुपैयाँको सहयोगलाई आर्थिक रकमभन्दा पनि मातृभूमिप्रतिको दायित्व,माया र भावनाको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।

‘यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो,’ शर्माले भनेका छन्, ‘देश बाहिर रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ।’

पिजन इन्जिनियरिङ ग्रुपका सिईओसमेत रहेका शर्माले नेपालमा आइपरेका हरेक ठूला विपत्तिमा प्रवासमा रहेका नेपालीहरूले सहयोग गर्दै आएको स्मरण गरेका छन्। भूकम्प, महामारी तथा बाढी–पहिरो
लगायतका राष्ट्रिय संकटका बेला विश्वभर छरिएका नेपाली एकजुट भएर मातृभूमिको पक्षमा उभिनु नेपाली समाजको बलियो पक्ष भएको उनको भनाइ छ।

‘भूकम्प, महामारी र बाढी–पहिरो जस्ता राष्ट्रिय संकटका बेला हामी नेपालीहरू सधैँ एक भएर उभिएका छौँ,’ उनले भनेका छन्, ‘आज फेरि त्यही एकता, सद्भाव र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ।’

शर्माले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि अहोरात्र खटिरहेका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

त्यसैगरी, प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर उद्धार तथा राहतमा खटिएका गैरआवासीय नेपाली संघका अभियन्ता र प्रवासबाट राहत तथा सहयोग जुटाउन सक्रिय नेपालीहरूप्रति पनि उनले धन्यवाद दिएका छन्।

विपत्तिको समयमा छिमेकी तथा मित्रराष्ट्रहरूले देखाएको मानवीय सद्भाव र सहयोगप्रति समेत शर्माले आभार व्यक्त गरेका छन्।

शर्माले अहिलेको विपत्तिलाई तत्कालीन राहतमा मात्र सीमित नराखी प्रभावित परिवारको पुनर्स्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। त्यसका लागि देशभित्र र विदेशमा रहेका नेपालीबीच सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ छ।

उनले विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो सामर्थ्यअनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अपिल गरेका छन्।

‘हामी सबैले हातेमालो गरेमा गुमेको अमूल्य जीवन फर्काउन नसके पनि पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला र आशा प्रदान गर्न सक्छौँ,’ शर्माले भनेका छन्।

बाढीबाट प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएपछि अहिले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था तथा प्रवासमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ। यही क्रममा शर्माको नेतृत्वमा रहेको पिजन इन्जिनियरिङ ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गरेको २५ लाख रुपैयाँको सहयोग पनि थपिएको हो।

शर्माले विपत्तिको यस घडीमा सहयोग रकम सानो–ठूलोभन्दा पनि पीडितप्रतिको मानवीय संवेदना र सामूहिक जिम्मेवारी महत्वपूर्ण हुने बताएका छन्। सबै नेपालीले आफ्नो क्षमताअनुसार सहयोग गरे प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्किन थप हौसला पुग्ने उनको विश्वास छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button