राष्ट्रियसमाचार

रसुवा–नुवाकोटका बाढीपीडितलाई एनआरएनएको मलम

५ करोड बराबरको राहतसहित एनआरएनए पदाधिकारी नै फिल्डमा, उद्धारदेखि पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो क्षति भएपछि एनआरएनएले तत्काल राहत तथा उद्धार अभियान अघि बढाएको हो। प्रभावित क्षेत्रमा वास्तविक अवस्था बुझ्न, राहतको प्राथमिकता निर्धारण गर्न तथा आवश्यक सामग्री वितरण गर्न संघका पदाधिकारीसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ।

एनआरएनएले खाद्यान्न, स्वास्थ्य सामग्री, औषधिलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने जनाएको छ। साथै स्थानीय तह, प्रशासन, नेपाल सरकारका सम्बन्धित निकाय तथा स्थानीय नागरिकसँग समन्वय गरी उद्धार र राहतलाई प्रभावकारी बनाउने तयारी गरिएको छ।

‘विपद्मा नेपाली जहाँ भए पनि नेपालकै साथमा’

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रसुवा र नुवाकोटमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को कठिन घडीमा विश्वभर रहेका गैरआवासीय नेपालीलाई सहयोगमा जुट्न आह्वान गरेका छन्।

“यो विपद्को घडीमा विश्वभर रहेका गैरआवासीय नेपाली एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,” शर्माले भने, “एनआरएनए तत्काल उद्धार र राहतदेखि स्वास्थ्य सेवा तथा पुनःस्थापनासम्मका काममा सक्रिय रूपमा अघि बढ्छ।”

राहतको प्राथमिकता स्थलगत अवस्थाका आधारमा

एनआरएनएका उपाध्यक्ष तथा राहत समितिका संयोजक मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहतको प्राथमिकता निर्धारण गरिने बताए।

उनका अनुसार स्थानीय प्रशासन, सरकारका सम्बन्धित निकाय र प्रभावित क्षेत्रका स्थानीयसँग समन्वय गरेर राहत वितरण गरिनेछ। तत्कालीन राहतसँगै बाढी तथा पहिरोबाट प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत एनआरएनएले सहयोग गर्ने उनले बताए।

राहतसँगै उद्धारमा पनि पदाधिकारी अग्रपङ्क्तिमा

एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उपसंयोजक प्रविन गुरुङ राहत वितरणसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिएका छन्।

प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र तत्काल आवश्यकताका आधारमा थप राहत परिचालन गर्ने उनको भनाइ छ।

“विपद्को यो पीडादायी अवस्थामा विश्वभर रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ,” गुरुङले भने, “एनआरएनएको टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरणसँगै उद्धार कार्यमा पनि सक्रिय हुनेछ।”

नेपालमा विपद् आइपर्दा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएका गुरुङ यसपटक पनि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि फिल्डमै खटिएका हुन्।

विश्वभरका नेपालीलाई सहयोगमा जुट्न आह्वान

एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।

थापा स्वयं पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सक्रिय हुने भएका छन्। विपद्को समयमा गैरआवासीय नेपालीले आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गर्दै सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ।

स्वास्थ्य सेवाका लागि विशेष चिकित्सक टोली

एनआरएनएका संस्थापक अध्यक्ष एवं मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्‍याउन विशेष चिकित्सक टोली परिचालन गर्ने बताएका छन्।

चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ।

घटनास्थलमा एनआरएनएको उच्चस्तरीय टोली

राहत तथा उद्धार अभियानका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक बद्री केसी, अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष लोकप्रसाद दाहाल, उपाध्यक्ष रोजिना प्रधान, उपाध्यक्ष प्रविन गुरुङ, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’, युवा उपाध्यक्ष भीमसेन थापा, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, युरोप पूर्व युवा संयोजक प्रकाश भण्डारी लगायत संघका पदाधिकारी तथा विभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरूको उपस्थिति रहने जानकारी दिइएको छ।

सरकारसँग समन्वय गर्न फोकल पर्सन

एनआरएनएले नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि संघका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ।

अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी समन्वय गर्नेछन्।

एनआरएनएका अनुसार तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनालाई समेत अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइनेछ।

विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्‍याउने लक्ष्यसहित अभियान सञ्चालन गरिने संघले जनाएको छ।

विपद्को घडीमा विदेशमा रहेका नेपालीको सहयोग र नेतृत्व स्वयं प्रभावित क्षेत्रको मैदानसम्म पुगेपछि रसुवा–नुवाकोटका बाढीपीडितका लागि एनआरएनएको यो अभियान राहत मात्रै नभई ‘जन्मभूमिप्रतिको जिम्मेवारी’को सन्देशसमेत बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button