मधेसराजनीतिसमाचारसमाज

मुद्दा मिलाउने नाममा आर्थिक चलखेलको आरोप, इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामाथि छानबिनको माग।

बारा — इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापामाथि मुद्दासम्बन्धी कार्यमा आर्थिक चलखेल गरेको भन्ने गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासी तथा केही सेवाग्राहीहरूले मुद्दा दर्ता, अनुसन्धान प्रक्रिया तथा अन्य कानुनी काममा आर्थिक प्रभाव पार्ने प्रयास हुने गरेको गुनासो गरेका छन्।

स्थानीय स्रोतका अनुसार मुद्दा दर्ता गर्न आउने सेवाग्राही तथा दर्ता भएका मुद्दाका पक्षसँग विभिन्न बहानामा रकम माग्ने र आर्थिक लेनदेनका आधारमा काम प्रभावित हुने गरेको आरोप लगाइएको छ। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

यस विषयमा प्रहरी निरीक्षक प्रकाश थापासँग प्रतिक्रिया लिन फोनमार्फत सम्पर्क गर्दा उनले फोनमा यसबारे प्रतिक्रिया दिन नमिल्ने बताउँदै, “यस्ता कुरा फोनमा गर्ने हो? भेटेर कुरा गरौँ,” भनेका थिए। उनले आरोपको स्पष्ट खण्डन वा स्वीकार भने गरेका छैनन्।

स्थानीय नागरिकहरूले प्रहरी संगठनबाट निष्पक्ष र पारदर्शी सेवा अपेक्षा गरिएको भन्दै आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय बारा, मधेश प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रधान कार्यालयबाट सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न आग्रह गरेका छन्।

कानुनविद्हरूका अनुसार यदि कुनै प्रहरी अधिकारीले अनुसन्धान वा कारबाहीलाई आर्थिक लेनदेनसँग जोडेको प्रमाणित भएमा त्यो भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसँग सम्बन्धित गम्भीर विषय हुन सक्छ। यस्तो अवस्थामा सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

यस घटनाबारे सम्बन्धित निकायबाट आधिकारिक छानबिन भई सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग स्थानीय स्तरमा उठिरहेको छ। आरोप पुष्टि भए कानुनी कारबाही र आरोप असत्य ठहरिए त्यसबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

स्रोत: शुभ आरम्भ राष्ट्रिय दैनिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button