
बिरगञ्ज, असार १४ — बिरगञ्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
आन्दोलनका क्रममा सरसफाइ कर्मीहरूले बिरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण शहरको नियमित सरसफाइ सेवा प्रभावित हुने सम्भावना देखिएको छ।
घटनालाई गम्भीर रूपमा लिँदै बिरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीलाई कुनै असुविधा नहोस् र शहरको सरसफाइ सेवा नियमित रूपमा सञ्चालन होस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभएको छ। साथै, सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन महानगरपालिका आवश्यक सबै कदम चाल्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ।



