मधेस उपनिर्वाचन: सिके राउतलाई झट्का, उपेन्द्र यादव र माधव नेपालले गरे फाइदा उठाउन सफल

मधेस प्रदेशका चार जिल्ला अन्तर्गत ७ वडामा सम्पन्न उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ। सप्तरी, धनुषा, महोत्तरी र रौतहट जिल्लामा भएको निर्वाचनको परिणामले मधेसको राजनीति नयाँ समीकरणतर्फ मोडिएको स्पष्ट संकेत गरेको छ।

यसपटकको उपनिर्वाचनले सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव खुम्चिएको देखाएको छ। जनमत पार्टीले सिके राउतकै गृहजिल्ला सप्तरीसहित धनुषा, महोत्तरी र रौतहटका वडाहरूमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन। यता, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधव नेपालको एकीकृत समाजवादीले आफ्नो प्रभाव बढाउन सकेका छन्।

सप्तरी: सिके राउतको गृहजिल्लामा जसपाको प्रभाव

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा जनता समाजवादी पार्टी (जसपा)ले वर्चस्व देखायो।

वडा नम्बर १: जसपाका धीरेन्द्रकुमार साहले ६५२ मत ल्याउँदै विजय हासिल गरे। कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत प्राप्त गरिन्। एमाले र राप्रपाका उम्मेदवार क्रमशः तेस्रो र चौथो भए। जनमत पार्टीका उम्मेदवार भने ७४ मत मात्र ल्याएर पाँचौं स्थानमा सीमित रहे।

वडा नम्बर ४: जसपाका देवेन्द्र प्रसाद यादवले ३७२ मत ल्याएर कांग्रेसलाई पछाडि पारे। यहाँ कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाए। यस वडामा पनि जनमत पार्टी तेस्रो स्थानमा रह्यो।

धनुषा: कांग्रेसको सिट माओवादीले खोस्यो

धनुषाधाम नगरपालिका वडा नम्बर १ मा यसपटक माओवादी केन्द्रले जित निकाल्यो।

परिणाम: माओवादीका सुनील कापर केवटले ६८४ मत ल्याउँदै कांग्रेसका अशोककुमार मण्डललाई ६०२ मतमा पराजित गरे। एमाले तेस्रो स्थानमा सीमित रह्यो।

महोत्तरी: माओवादीको सिट एमालेले खोस्यो

रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा एमालेका सकिबुल खाँ विजयी भए।

परिणाम: खाँले ६३१ मत प्राप्त गर्दा माओवादीकी आइतीकुमारी यादवले ५३४ मत पाइन्। कांग्रेस तेस्रो र जसपा चौथो स्थानमा रहे।

रौतहट: माधव नेपालको प्रभाव र कांग्रेसको फाइदा

रौतहट जिल्लाका तीन वडामा भएको उपनिर्वाचनमा एमाले र जसपाले घाटा बेहोर्‍यो भने कांग्रेस र एकीकृत समाजवादीले फाइदा उठाए।

ईशनाथपुर नगरपालिका वडा नम्बर ७: कांग्रेसका शेख अब्दुल खलिक ६२७ मत ल्याएर विजयी बने। एमालेका शेख अनवार ५७५ मत ल्याएर दोस्रो स्थानमा रहे।

गढीमाई नगरपालिका वडा नम्बर ८: जसपाको वडामा एकीकृत समाजवादीले जित निकाल्यो। बजरंगी यादव विजयी बने।

राजपुर नगरपालिका वडा नम्बर ६: नेपाली कांग्रेसका समोस आलम पुनः विजयी भए।

सिके राउतको प्रभाव खुम्चिँदै

यसपटकको उपनिर्वाचनले सिके राउत नेतृत्वको जनमत पार्टीप्रतिको आकर्षणमा कमी आएको देखाएको छ। विशेषगरी सप्तरीमा जनमतले कमजोर प्रदर्शन गरेको छ। एमाले र माओवादीजस्ता वामपन्थी दलहरूमा विभाजन हुँदा कांग्रेस, जसपा र एकीकृत समाजवादीलाई फाइदा पुगेको छ।

मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपस्थिति नगन्य रह्यो। वाम दलहरूबीचको विभाजनले कांग्रेसलाई फाइदा पुग्ने संकेत यस निर्वाचनले गरेको छ।

मधेसका यी ७ वडाको उपनिर्वाचनले सिके राउतको दलको घट्दो प्रभाव र उपेन्द्र यादव र माधव नेपालको दलको बढ्दो लोकप्रियता देखाएको छ। कांग्रेसले पनि केही वडामा जित निकाल्दै आफ्नो पकड बलियो बनाएको छ। साभार: नेपालपोष्ट डेली

Comments (0)
Add Comment