कलैया , १३ चैत
लामो समयदेखि निर्माणाधीन रहेको सिम्रौनगढ नगरपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन अन्ततः उद्घाटन गरिएको छ। २०७६ साल फागुन २६ गते तत्कालीन नगरप्रमुख विजय शंकर यादवद्वारा शिलान्यास गरिएको उक्त भवन ६ वर्षपछि निर्माण सम्पन्न भई रामनवमीको पावन अवसरमा शुक्रबार भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
नगरप्रमुख किशोरी प्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराको सक्रिय पहलमा सम्पन्न उद्घाटन समारोहमा धार्मिक तथा सांस्कृतिक विधिअनुसार पूजा–आराधना गरिएको थियो। नगरप्रमुख कलवारले वैदिक मन्त्रोच्चारणका साथ पूजा सम्पन्न गर्दै पानसमा दीप प्रज्वलन गरी भवनको औपचारिक उद्घाटन गरेका थिए।
नगरप्रमुख कलवारको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गणेश धिताल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि धितालले नगरको समग्र विकासका लागि भौतिक पूर्वाधारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशासनिक भवन निर्माणले स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालनबीच निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराले स्वागत मन्तव्य राख्दै भवन निर्माण सम्पन्न हुनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले अब एउटै स्थानबाट सेवा उपलब्ध गराउन सकिने भएकाले सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास व्यक्त गरे।
प्रशासनिक भवन निर्माणका लागि कुल ७ करोड २३ लाख ८९ हजार ९७६ रुपैयाँ ४१ पैसा लागत स्वीकृत गरिएको थियो। उक्त लागतको ४० प्रतिशत संघीय सरकारको अनुदान र ६० प्रतिशत सिम्रौनगढ नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाइएको छ।
विगत केही वर्षदेखि विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले निर्माण कार्यमा ढिलाइ हुँदै आएको भए पनि हाल भवन पूर्ण रूपमा सम्पन्न भई सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। नयाँ भवनमा आधुनिक संरचना, पर्याप्त कार्यकक्ष, बैठक हल तथा सेवाग्राहीका लागि आवश्यक पूर्वाधार समावेश गरिएको छ।
यस भवन सञ्चालनमा आएसँगै नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवा—जस्तै नागरिकता सिफारिस, कर संकलन, सामाजिक सुरक्षा भत्ता वितरण, योजना व्यवस्थापन लगायतका काम—अब थप व्यवस्थित, छिटो र पारदर्शी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले समेत भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै अब नगरपालिकाबाट सेवा लिन सहज हुने बताएका छन्। उनीहरूले नयाँ संरचनाले नगरको प्रशासनिक क्षमता वृद्धि गर्नुका साथै सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।