बारामा आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता वितरण, वडा नं. ४ बाट सुरु

बारा जिल्लामा आमाको नामका आधारमा अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्ने ऐतिहासिक प्रक्रिया सुरु भएको छ। नेपाल नागरिकता ऐनमा भएको संशोधनअनुसार पहिलोपटक बारामा आमाको पहिचानका आधारमा नागरिकता वितरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत तथा कलैया उपमहानगरपालिका–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ र नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ ले आमाको नामबाट पनि अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था गरेको छ। सोही कानुनी प्रावधानअनुसार बारामा पहिलोपटक यो प्रक्रिया कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।
यसैक्रममा बिहीबार कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको छ। आमाको नामबाट नागरिकता वितरण सुरु गर्ने कार्यमा वडा नं. ४ पहिलो स्थानमा पर्न सफल भएको छ।
वडा अध्यक्ष रामेश्वर प्रसाद यादव, वडा सचिव खेदु मिया अँसारी तथा वडा नं. ४ को वडा समितिको कार्यालय, कलैया बाराको सक्रिय समन्वयमा उक्त प्रक्रिया अगाडि बढाइएको हो। वडास्तरमै नागरिकता वितरणको पहल हुनु स्थानीय सरकारको सकारात्मक भूमिका रहेको सरोकारवालाहरूले बताएका छन्।
यसअघि बाबुको नाम, पहिचान वा उपस्थितिको अभावमा धेरै नागरिक नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए। आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै त्यस्ता नागरिकहरूलाई राज्यको पहिचान प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
आमाको पहिचानलाई कानुनी मान्यता दिँदै नागरिकता प्रदान गर्नु महिला अधिकार, समावेशी नागरिकता र संवैधानिक समानताको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा आमाको नामबाट नागरिकता लिनेको संख्या अझै बढ्ने विश्वास व्यक्त गरेको छ।
Comments (0)
Add Comment