क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आगामी अगस्ट ३१ मा हुने भएपछि नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। यसै क्रममा समाजसेवामा लामो समयदेखि सक्रिय युवा समाजसेवी मातृका खतिवडाले २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
दशकभन्दा बढी समयदेखि मलेसियामा बस्दै आएका खतिवडा विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध रहँदै नेपाली श्रमिकहरूको समस्या समाधान, सहयोग तथा हक–हितका लागि सक्रिय रहँदै आएका छन्। वैदेशिक रोजगारीमा देखिने चुनौतीहरूलाई नजिकबाट बुझ्ने अवसर पाएका उनले समस्याको समाधानमा निरन्तर पहल गर्दै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै खतिवडाले युवालाई “संगठनको मेरुदण्ड”का रूपमा व्याख्या गर्दै मलेसियामा रहेका नेपाली युवाको क्षमता, सीप र ऊर्जालाई संस्थागत विकासमा उपयोग गर्ने अठोट व्यक्त गरेका छन्। उनले भने, “युवाबीच एकता र सहयोगको भावना विकास नगरेसम्म कुनै पनि संस्थागत लक्ष्य हासिल हुन सक्दैन।”
उनले आगामी कार्यकालमा युवाको सशक्तिकरण, सीप अभिवृद्धि र नेतृत्व विकासलाई प्रमुख प्राथमिकता बनाउने बताएका छन्।
सहयोगी स्वभाव, मिलनसार व्यवहार र समाजसेवाप्रतिको गहिरो लगावका कारण खतिवडाको उम्मेदवारीलाई समुदायले गम्भीर र सशक्त प्रतिस्पर्धीका रूपमा लिएको छ। उनका समर्थकहरूका अनुसार, “मातृका खतिवडा श्रमिक र युवाको वास्तविक आवाज बोकेका उम्मेदवार हुन्।”
समर्थकहरूले विश्वास व्यक्त गरेका छन् कि उनको नेतृत्वमा संगठन अझ समावेशी, उत्तरदायी र युवामैत्री बन्नेछ।