अध्ययन बिदा दुरुपयोग : प्राध्यापकबाट पैसा फिर्ता गराउन हेल्प डेस्क स्थापना

त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको हो ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन  हेल्प डेस्क स्थापना गरेको छ ।

त्रिविको कार्यकारी परिषद्ले बुधबार हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो । त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको हो । यसअघि अध्ययन बिदा लिएर गएका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि खोजबिन गर्न काफ्लेकै संयोजकत्वमा खोजबिन समिति बनाइएको थियो ।

समितिले खोजबिन गरी प्रतिवेदन बुझाइ सकेको छ । उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न हेल्क डेस्क स्थापना गरिएको हो । उपकुलपति प्रा.डा दीपक अर्यालका अनुसार मापदण्ड पनि बनाइएको छ ।

‘तीन वर्ष बिदामा बसेको छ भने कति तलब खाएको छ त्यो सम्बन्धित क्याम्पसले दिएको विवरण अनुसार १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्नुपर्छ । चक्रिय ब्याज भने लाग्दैन,’ उपकुलपति अर्यालले भने, ‘यदि फर्केर तीन वर्ष काम गरेको छ भने फिर्ता गर्नुपर्दैन ।’

अध्ययन बिदा सकिएपछि राजीनामा स्वीकृति गराएको छ भने राजीनामा स्वीकृत गरेको मितिसम्म्को मात्र पैसा फिर्ता लिने निर्णय पनि त्रिविले गरेको छ ।

Comments (0)
Add Comment