रामहरि खतिवडाको राजीनामा स्वभाविक : एमाले

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा स्वभाविक भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानविन समितिले सभापतिलाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाको राजीनामा स्वभाविक भएको बताए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा स्वभाविक हो । समिति सचिवको सन्दर्भमा उक्त समितिबाट अन्यत्र सरुवा गर्ने कुरा नै होला,’ उनले भने, ‘सोही समितिमा बसेर कार्यसम्पादन गर्ने कुरा र निरन्तरता दिने कुरा नहोला । यो एउटा विधायिकी कामका सन्दर्भमा शिक्षा लिने कुरा पनि हो जस्तो लाग्छ मलाई ।’

कानून निर्माण भएको त्रुटीका आधारमा राजीनामा दिने कुरालाई अन्यथा लिन नहुने उनको तर्क छ ।

प्रमुख सचेतक बर्तौलाले समिति सचिवले समेत अब सोही समितिमा बसेर काम गर्न नसक्ने बताए । कानून निर्माण प्रक्रियाबारे कर्मचारीहरुमा ज्ञानको कमि भएको कारण समय समयमा प्रश्न उठ्ने गरेको पनि बताए ।

‘कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो हो । तर विधायिकी काम गर्नको लागि विज्ञसहितको कानून महाशाखा नै छैन । कानून मन्त्रालयबाट आएका कामजका कर्मचारी मात्र रहनु भएको छ । कानून निर्माणमा उहाँहरूको भूमिका छन्,’ उनले भने, ‘संसदीय समितिमा कार्यरत कर्मचारीहरुमा पनि विधेयक लेखनको अनुभव छैन । ज्ञान छैन । त्यसैले अगामी दिनमा विधायिकी काम कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्नुपर्छ ।’

कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबाट शिक्षा लिएर अगामी दिनमा कानून निर्माण गर्दा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

Comments (0)
Add Comment