मलेसिया :=गैर आवासीय नेपाली संघ (एनआरएन) स्थापना भएको करिब २२ वर्ष पुग्न लागेको छ । यो अवधिमा निकै जना संरक्षकका रुपमा अध्यक्ष पाएको एनआरएन विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको छ भन्ने कुरा सबैमा घाम जस्तै छर्लङ्ग छ। विभिन्न कारणवस नेपाल छाडि विदेशमा रहेका नेपालीलाई एकै थलोमा ल्याई तिनिहरुको विकास एवं कल्याणका लागि काम गर्नु एनआरएनए (गैर आवासीय नेपाली संघ) को मुख्य कार्य हो । समयक्रम संगसंगै दिनानुदिन विश्वका विभिन्न देशमा नेपालीहरुको वसाइसराइ, विकास एवं विस्तार पनि झांगिदै गएको छ ।
गैर आवासीय नेपाली संघ आज भन्दा करिब २२ वर्ष (११ देखि १४ अक्टुबर २००३) मा विश्व सम्मेलन आयोजना गरी जन्म भएको संस्था हो । उक्त समय नेपाल सरकार, नेपाल उद्योग बाणिज्य संघ र गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनमा डा. उपेन्द्र महतोले उक्त संस्थाको नेतृत्व गरेका थिए । ‘नेपालीको लागि नेपाली’ र ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मुल नारा दिएर स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन) विशुद्ध नेपाल बाहिर रहेका नेपालीको हितका लागि जन्मिएको नेपालीहरुको गैर राजनैतिक छाता संगठन थियो ।
भनिन्छ, देशको माया स्वदेशमा रहंदा भन्दा विदेशमा झन् प्यारो हुन्छ । विभिन्न राजनैतिक, शैक्षिक तथा अन्य परिस्थितिका कारणले विदेशिन वाध्य नेपालीहरुको जनसंख्या करिब ४८ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ जुन कुनै एक युरोपियन देशको जनसंख्याको बराबर हो । देश छोडे संगै नेपालीहरु विभिन्न समस्याबाट पिल्सिएका छन् । भिषा, भाषा, काम, खाना बस्न एवं स्वास्थ समस्या आदि । वास्तवमा एनआरएन यसप्रकारका समस्याहरुको हल गर्ने पवित्र उद्देश्य राखेर स्थापना भएको नेपाली संघ हो र छोटो समयमा नै करिब विश्वका ८१ देशमा अभियानका रुपमा फैलिएर विशाल संघ निर्माण भइसकेको छ । यस अर्थमा उक्त संस्था स्थापनाको आधार त्यो समय मात्र पुरा हुन्छ, जुन समय हामीले हाम्रो भाषा, संस्कृति एवं रहनसहनलाई मातृत्वका आधारमा विदेशमा जर्गेना गर्न सक्छौं ।
स्थापनाको प्रारम्भिक कालमा नेपालको बिग्रंदो आर्थिक तथा राजनीतिक अवस्थामा एनआरएनले ‘नेपालीको लागि नेपाली’ भएर नेपाली अर्थतन्त्रको उत्थानका लागि भिन्न लगानी तथा रेमिटेन्सबाट देशको राष्ट्रिय ढुकुटीलाई मजबुत गर्ने काम त गरयो नै, संगसंगै विपत तथा प्राकृतिक प्रकोपको समयमा समेत नेपालमा सहयोग र ऐक्यवद्धता जनाएको थियो । यसबाट नेपाल तथा विदेशमा रहेका नेपालीहरु कृतज्ञ तथा आभारी थिए । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरु अध्ययन, पेसा, व्यवसाय, रोजगारीको सिलसिलामा विश्वको जुनसकै कुनामा रहेको भएपनि वास्तविक पहिचान नै हाम्रो आफ्नो राष्ट्रिय पहिचान भएकोले विविध भाषा,भेष, धर्म, संस्कृति र कलाको माध्यमबाट नेपालीलाई संगठित हुने नै यसको मुख्य लक्ष्य थियो । वास्तबमा त्यो नै गैर आवासीय नेपाली संघको मुल धर्म थियो र ब्यापक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समर्थन पाएको थियो । तर बाग्मती पहिले जस्तो पवित्र रहिनन्, उनमा रहेको निर्मल जल बिस्तारै बिस्तारै प्रदुषित हुन थाल्यो ।
हाल आएर विभिन्न राजनीतिक गुट तथा उप गुटले ग्वाम्मै निल्न लागेको देखिन्छ एनआरएनएन । संगसंगै प्रश्न उब्जिएको छ नेपालबाहिर काम गर्न आएका अस्थायी विदेशी र नेपाल छाडेर विदेशमा बसोबास गरेका स्थायी नेपाली विदेशीको हितका लागि कि व्यापारीहरुको व्यापार गर्ने साझा चौतारी बनाउनका लागि खोलिएको संस्था हो ? होइन भने राजनैतिक आस्थाको आधारमा विवाद र गुट सिर्जना गर्नुको औचित्य के ? बिडम्बनाका साथ भन्नै पर्छ अहिले एनआरएनमा सामान्य निर्णय तथा कार्यान्वयनमा समेत नेपालको राजनीतिक दुर्गन्ध बढेर गएको छ । खुलेआम उक्त संगठनमा राजनैतिक हस्तक्षेप र भागवण्डाको शिकार बनेको देखिन्छ । यावत समस्या नेपालीहरुको बीचमा हुंदा हुंदै पनि हाल आएर समग्र एनआरएन यि समस्या हल गर्ने भन्दा पनि राजनीति गर्ने थलोको रुपमा विकसित हुंदै गएको देखिन्छ ।
एनआरएनए मलेसियाको सन्दर्भः
करिब ८ लाख्को हाराहारीमा नेपाली रहेको अनुमान गरिएको मलेसियामा लगायत विभिन्न एसियायी मुलुकमा अहिले चुनाबी सरगर्मी बढ्दै गएको छ । बाहिर बाहिर गैर आवासीय नेपालीको मुद्दालाई उठान गर्दै उनीहरुको हितमा काम गर्ने उद्देश्य भनिए पनि त्यस विपरीत गैर आवासीय नेपाली संघको नेतृत्वमा आउन चाहने स्वयंले नेपाली राजनीतिक दलका भातृ संगठनको साथ-समर्थन गुहारिरहेको अवस्थाले संस्थाको उद्देश्यविपरीत गैरआवासीय नेपाली संघमा राजनीतिक रंग देखिन थालेको छ । राजनैतिक आस्थाको आधारमा नै उफ्री उफ्री एनआरएनको वकालत गर्दै सदस्यता बढाउंदै हिंडेको देखिन्छ । त्यसमाथि अर्को चाखलादो कुरा त नेपाल सरकारको प्रतिनिधि बनेर विदेशमा जधौं खान कुरी रहेको देखिन्छन् । अहिलेको सन्दर्भमा एनआरएनमा राजनीतिकरण अधिपत्यले चटक देखाएको छ । तर देश बाहिर रहंदा पनि अझ राजनैतिक गुटबन्दी गर्नु आफैंमा हास्यास्पद कुरा हो । राजनीति नै गर्ने भए देशमा मैदान खाली छ महासय, एनआरएनमा होइन । यो आहिलेको सत्य हो ।
आसन्न गैर आवासीय नेपाली संघ मलेसियाको सन्दर्भमा पनि निर्वाचनमा पार्टीका प्रवास संगठनको समर्थनदेखि नेपालका राजनीतिक दलका नेताहरुको साथ आफूलाई रहेको भनी प्रचार गर्न उम्मेदवारहरुबीच प्रतिष्पर्धा नै देखिन थालेको छ । चुनाव जित्नका लागि कांग्रेस र एमाले दुवै हुं भनेर प्रष्ट्याउन खोज्ने कामसमेत नेतृत्वका आकांक्षीबाट हुने गरेको देखिएको छ । अर्कोतर्फ गुट नै बनाएर महिना दिन अघिदेखि नै चुनावी अभियान थालिनुले समेत चुनाव सकिएपछि त्यसले पछिसम्म एनआरएन मलेसियामा विभाजनको बीउ रोपिन सक्छ भन्दै एनआरएन मलेसियाका अभियन्ताहरु तथा एनआरएनएलाई माया गर्नेहरु समेत चिन्तित हुन थालेका छन् ।
गैरआवासीय नेपाली संघलाई सबैको साझा र एकतावद्ध संस्था बनाउन सक्दा मात्रै त्यसले सबैको हित गर्न सक्छ । एनआरएन मलेसियामा देखिएको राजनैतिककरणबाट वाक्क भएका एकजना अभियान्ताले भनेका थिए – ‘अहिले मलेसियामा महिनौं दिन अघिदेखि प्यानल बनाएर जाने काम भएको छ, कित्ताकाट भइरहेको छ, यो एनआरएन नभएर केवल नेपाली राजनैतिक पार्टीको भर्ती केन्द्र मात्र हो ।’ यसले संस्थालाई सही ठाउंमा लान नसक्ने उनले दाबी गरे । ‘प्रजातान्त्रिक अभ्यासमा जानुपर्छ त्यसमा कसैले नराम्रो मान्नुपर्ने छैन’, नाम उल्लेख नगर्ने शर्तमा उनले भने- ‘तर, यो कुनै सरकारी ओहोदा वा संसदीय चुनाव हो र यसरी कित्ताकाट गर्ने ? अझ हुंदा हुंदा आफूलाई नेपालका दल तथा नेताहरुको नजिक छु भनेर प्रचारलाई अघि बढाउंदा भोलि नेपाली डायष्पोरा कता पुग्छ, के त्यसको ख्याल गर्नुपर्दैन ?’
यस्तो बेला हास्यास्पद कुरा पनि छ अर्को कुरा गम्भीर छ लाखौं श्रमकहरुको साझा संस्था भनेको एन आर एन भित्र गुढबन्दी दुई खेमा रजेको प्रष्ट छ। बर्तमन अबधिमा आधा आधा अबधी हस्तान्तरण गर्दै चलाउने सर्बसहमतीलाई वेवास्ता गर्दै दुई खेमा बिचको बिबादास्पद कार्यकाल भएको मलेसियामा रहेको आम संघ संस्त्गा लगायत सम्पुर्ण नेपाली श्रमकलाई जनकारी छ। बाहिरी रुपमा सहमतीको खोल ओढे पनि भित्री रुपमा अझै कटाक्ष छ भन्ने कुरा एकता भएको घोषणा भए पछिको चुट्टा छुटै प्रेश बिज्ञप्तिले स्पस्ट पारेको छ। यहाँ प्रश्न उठ्छ लाखौ श्रमिकको मनमा प्रश्न छ रे” who care? लाखौ श्रमिकले मतलब नै गर्दैनन नि। NRNA कहिलै पनि श्रमिकको सवालमा जोडिएन अनि श्रमिकलाइ चिन्ता चाहिँ कसरी हुन्छ? आफ्नो स्वार्थकि राजनीतिक अनि सामाजिक सस्थालाई समाज सेवाको रुपमा नभएर ब्यापारिक केन्द्रको रुपमा स्थापना गर्नु खोज्नु साथै म्यानपावर र दलालहरुको ग्याङ यो बाहेक एनआरएनए को खासै परिचय नदिनु दुर्भाग्य हो।
एनआरएन मलेसिया चुनावी माहौल अघि बढिरहंदा मलेसियामा रहेका नेपालीमा विभाजनको बीउ रोपिने त होइन भन्ने चिन्तासमेत बढेको देखिन्छ । प्यानल प्यानलमा नेपालीहरु बांडिदा एकतावद्ध र सशक्त एनआरएन अभियानमा त्यसले वाधा पुग्ने र भोलि नेपाली समुदाय कमजोर बन्नेतर्फ आफूलाई उभ्याउन गरेको प्रयासले देश बाहिर रहेका आम नेपालीमा फुट ल्याउनेतर्फ आम नेपालीको चिन्ता देखिन्छ । पछिल्लो समय मलेसियामा रहेका नेपालीका सामाजिक सञ्जालमा एनआरएनए मलेसियाकै चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा भोटको आशा मात्रै होइन मेरो समूह यो हो भनेर चित्रित गर्दै म अरुभन्दा यो कारणले बलियो छु भन्नेदेखि लिएर आन्तरिक रुपमा अर्को पक्षलाई गिराएर नेपालको दलीय राजनीतिको प्रभावस्वरुप भोटको राजनीतिसमेत गर्न थालिएको छ । तथापि सरसर्ती हेर्दा अधिकांश यूकेमा हुने जति पनि नेपाली कार्यक्रम चाहे त्यो सामाजिक होस वा सांस्कृतिक एनआरएनए मलेसियाको भूमिका नगन्य छ ।
भनिन्छ, राजनीति समाजको मुल नीति हो तथापि यो कतिपय अवस्थामा भने असान्दर्भिक पनि हुन सक्छ । एन आर एन मलेसिया एउटा विशुद्ध अराजनीतिक संस्था हो । तर विडम्वना नै मान्नु पर्छ यसका हरेक क्रियाकलाप राजनीतिक पक्ष पोषणमा आधारित देखिन्छन् । तसर्थ आउदो कार्यकाल समाज सेवि श्रमिकहरुकी हक हित्को निमित्त लड्ने ससक्त जुझारु युवाको आवश्यक्ता छ। पुस्ता हस्तान्तरण हुनु जरुरी छ। हिजोको इतिहास भन्दा फरक इतिहास लेख्न सक्ने युवा जोस जागरको साथ हिजो बिगि्रएको सम्बन्ध परिस्थितिलसिइ सङ्गाल्दै आफ्नो कर्तव्य निस्टावान श्रमिक युवाले सस्था सम्हालेको होस तब सामाजिक संस्था हो भन्ने आभास होस ।