बीरगंज,
वीरगंज महानगरपालिका वडा नम्बर १९ विन्दावासिनी स्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेरबारमा तोडफोड भएको छ ।
महानगरले हालै गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल अज्ञात समूहले ढालेको पाइएको हो ।महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोड भएको फेला परेको हो। गत असार महिनामै करिब ७ बिघा क्षेत्रफल ओगट्ने उक्त सार्वजनिक जग्गामा वृक्षारोपणको तयारी स्वरूप अहिले ८० वटा पोलले घेरबार गरिएको थियो ।
यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। ती व्यक्तिहरूकै मिलेमतोमा घेरबार तोडफोड गरिएको हुन सक्ने आशङ्का गरिएको छ ।
“सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएको देखिन्छ,” वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रक्रिया सहित उजुरी दर्ता गरिसकेको छ ।”
महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरुद्ध हुने यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने महानगरले स्पष्ट पारेको छ ।
यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आह्वान गरिएको छ । सँम्भार: रातोपाटी