रौतहटको गरुडा नगरपालिकामा शिक्षा क्षेत्रमा सुधार र सशक्तिकरणको उद्देश्यका साथ विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिएको छ। नगर प्रमुख कन्थ मुनी जयसवालको नेतृत्वमा तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र शाखा चपुरको पहलमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
हिजो र आज दुई दिनसम्म सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत गरुडा नगरपालिकाका विभिन्न विद्यालयहरूमा पाठ्यपुस्तक, शैक्षिक खेलकुद सामग्री, ह्वाइट बोर्ड, पिन बोर्ड लगायतका सामग्रीहरू प्रदान गरिएको छ। यस अभियानले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
शैक्षिक सामग्री प्राप्त गर्ने विद्यालयहरू यसप्रकार रहेका छन्ः
🔹 वंशीराम अनाथालय श्री प्राथमिक विद्यालय, गरुडा
🔹 श्री नमुना माध्यमिक विद्यालय, गरुडा
🔹 श्री रामचन्द्र माध्यमिक विद्यालय, जिङ्गडिया
🔹 श्री माध्यमिक विद्यालय, गम्हरिया नयाँ श्रीपुर
🔹 श्री स्व. लालबाबु दाद प्राथमिक विद्यालय, सिस्वा
🔹 श्री आधारभूत विद्यालय, पोठियाही–६
🔹 श्री प्राथमिक विद्यालय, पोठियाही–६
🔹 श्री अमरपट्टी प्राथमिक विद्यालय–६
🔹 श्री शंकर प्राथमिक विद्यालय–७
🔹 श्री माध्यमिक विद्यालय, पिपरिया दोस्तिया–७
नगर प्रमुख जयसवालले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। “यस्ता सकारात्मक पहलले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो। साथै, यस अभियानमा सहकार्य गरेकोमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रप्रति उहाँले विशेष धन्यवाद पनि व्यक्त गर्नुभयो।
शिक्षामा गुणस्तर र पहुँच विस्तार गर्दै समावेशी र समृद्ध नगर बनाउने अभियानमा गरुडा नगरपालिकाको यो कदम प्रेरणादायी बन्ने विश्वास लिइएको छ।