अन्तर्राष्ट्रियगैर आवासीय नेपाली संघ “एनआरएनएसमाचार

हङकङबाट अभियन्ता आकाश बञ्जाराद्वारा प्रधानमन्त्री बालेनको देश बनाउने यात्रामा साथ रहेको घोषणा

काठमाडौं, हङकङका सफल नेपाली व्यवसायी तथा सामाजिक अभियन्ता आकाश बञ्जाराले प्रधानमन्त्री बालेनप्रति गहिरो आत्मीयता, सम्मान र विश्वास व्यक्त गर्दै देश निर्माणको यात्रामा आफू सधैँ सकारात्मक साथ र शुभेच्छासहित उभिने बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका तथा फिने अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष र नेचुरल साउन्ड हेलिङ ईन्टरनेशनल स्कुल को संस्थापक
समेत रहेका बञ्जाराले सामाजिक सञ्जालमा भावनात्मक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनको नेतृत्व, आँट र देशप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका हुन्।

बञ्जाराले प्रधानमन्त्री पदको गरिमा र संवैधानिक जिम्मेवारीप्रति आफूले उच्च सम्मान गर्ने स्पष्ट गर्दै व्यक्तिगत रूपमा भने बालेनलाई उमेरमा आफूभन्दा कान्छो भाइका रूपमा सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा कुनै राजनीतिक आग्रह वा अनादर नभएको स्पष्ट गर्दै एक दाइको हृदयमा रहेको आत्मीयता, गर्व र शुभेच्छा व्यक्त गर्न खोजेको बताएका छन्।

‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ। तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु,’ बञ्जाराले लेखेका छन्।

आफू कुनै राजनीतिक दलको झण्डा बोक्ने व्यक्ति नभएको र अन्धभक्त भएर कसैको पछि लाग्ने स्वभावसमेत नभएको उल्लेख गर्दै बञ्जाराले आफू राजनीतिमा कहिल्यै नलाग्ने घोषणा गरेका छन्। तर, परदेशमा बसेर टाढाबाट नेपाललाई नियाल्दा देशको मुहार परिवर्तनका लागि इमानदारीपूर्वक काम गरिरहेको नेतृत्व देख्दा मन भावुक बन्ने उनको भनाइ छ।

‘तिमीले देशको नेतृत्व सम्हालेर नेपाल आमाको हितमा जुन काम गरिरहेका छौ, त्यो साँच्चै अतुलनीय र प्रशंसनीय छ,’ बञ्जाराले लेखेका छन्, ‘तिम्रो निस्वार्थ कर्म, आँट र देशप्रतिको समर्पणले मेरो हृदय जितेको छ।’

यही भावनालाई थप स्पष्ट गर्दै उनले बालेनप्रति आफ्नो आत्मीयता व्यक्त गर्न ‘आई रियल्ली लभ यु’ मेरो डियर भाइ बालेन’ भन्दै सम्बोधन गरेका छन्। उनको यो अभिव्यक्ति राजनीतिक समर्थनभन्दा पनि देश निर्माणका लागि सक्रिय नेतृत्वप्रति एक नेपाली नागरिक तथा प्रवासी नेपाली अभियन्ताले व्यक्त गरेको व्यक्तिगत विश्वास, सम्मान र शुभेच्छाका रूपमा आएको देखिन्छ।

हङकङमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय बञ्जारा नेपालमा समेत लगानी गर्दै आएका नेपाली व्यवसायी हुन्। प्रवासी नेपालीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने अभियानमा सक्रिय उनी एनआरएनएका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। विदेशमा रहेर पनि नेपालमा लगानी विस्तार, सामाजिक अभियान र नेपाली समुदायका सवालमा निरन्तर जोडिँदै आएका बञ्जाराको नेपालप्रतिको चासो र सम्बन्ध उनको पछिल्लो अभिव्यक्तिमा समेत स्पष्ट देखिन्छ।

बञ्जाराले बालेनको देश निर्माणको कठिन यात्रामा आगामी दिनमा कुनै अवरोध नआओस् भन्दै करोडौँ नेपालीको आशीर्वाद सधैँ साथ रहोस् भन्ने कामना गरेका छन्। उनले बालेनलाई ‘सधैँ यसरी नै देशको सान बनेर चम्किरहनू भाइ’ भन्दै आफ्नो शुभेच्छा व्यक्त गरेका छन्।

विदेशमा बसेर नेपालमा लगानी र सामाजिक गतिविधिमा जोडिएका बञ्जाराजस्ता प्रवासी नेपाली अभियन्ताको यस्तो अभिव्यक्तिले देशभित्रको राजनीतिक बहसभन्दा बाहिर रहेको अर्को महत्वपूर्ण पक्षसमेत उजागर गरेको छ,नेपालको विकास, सुशासन र समृद्धिका लागि नेतृत्वले परिणाममुखी काम गर्नुपर्छ भन्ने प्रवासी नेपालीको अपेक्षा। बञ्जाराको सन्देशमा त्यही अपेक्षासँगै देशका लागि राम्रो काम गर्ने नेतृत्वलाई प्रोत्साहन र हौसला दिनुपर्ने भावना देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button