क्वालालम्पुर/दोलखा ।
दोलखा निवासी दुई वर्षीय बालिकाको उपचारका लागि नेपाली जनसम्पर्क समिति मलेसियाले रु. ४०,७०० (चालीस हजार सात सय रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ।
समितिका सदस्य देवराज घिमिरेको विशेष पहलमा सुरु भएको सहयोग अभियानलाई समितिका सभापति चोलाकान्त पंगेनीले सक्रिय समन्वय गरेका थिए। सो अभियानमा समितिका पदाधिकारी तथा साधारण सदस्यहरू समेत सक्रिय रहँदै आवश्यक रकम संकलन गरेका हुन्।
संकलित रकम समितिका सह-कोषाध्यक्ष इन्द्र प्रकाश भण्डारीको पहलमा आजै बालिकाकी आमा रमा भट्टराईको बैंक खातामा पठाइएको छ।
महामन्त्री हरि कोइरालाले नेपाली जनसम्पर्क समितिको यो कदम विदेशमा रहँदा पनि मातृभूमि र त्यहाँका पीडित नागरिकप्रति नेपाली समुदायले देखाएको उत्तरदायित्वपूर्ण उदाहरण भएको बताए। उहाँका अनुसार संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि नेपाली समुदाय एकताबद्ध भएर मानवीय सेवामा संलग्न हुनु गर्वको विषय हो।
त्यसैगरी, कोषाध्यक्ष गणेश राउतले सहयोगमा सहभागी हुने सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक गतिविधिमा साथ–सहयोगको अपेक्षा गरिएको बताए। समितिका प्रवक्ता सरोज दाहालले उक्त सहयोग कार्यक्रमको सम्पूर्ण विवरण सार्वजनिक गरेका थिए।
नेपाली जनसम्पर्क समितिले विगतमा पनि आवश्यकता अनुसार स्वास्थ्य उपचार, प्राकृतिक विपत्ति तथा आकस्मिक घटनामा विभिन्न जिल्लाका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ। यसले विदेशमा रहेका नेपाली समुदायबीच सामाजिक उत्तरदायित्व र आपसी एकता झनै मजबुत भएको देखाएको छ।
नेपाली जनसम्पर्क समिति, मलेसिया