काठमाडौँ — हास्य टेलिसिरियल ‘मेरिबास्सै’को जिम्मेवारी लिएर कलाकार राजु पौडेल (राजु मास्टर) फेरि फर्किएका छन् । राजुले आगामी साताबाट प्रसारण हुनेगरी ‘मेरिबास्सै’को लेखन र निर्देशन गर्ने भएको हो ।
टेलिसिरियलमा उनले अभिनय पनि गर्नेछन् । यही टेलिसिरियलबाटै राजु मास्टरका रुपले उनले ख्याति कमाएका हुन् । १२ वर्ष यही सिरियलमा काम गरेपछि यसबीच उनले अन्यमा पनि काम गरे । अहिले भने फेरि जिम्मेवारीसहित उनी फर्किएका हुन् । ‘मेरिबास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ । यहि ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरिबास्सैको देन हो । अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु, त्यसैले चुनौती महसुस गरेको छु,’राजुले भने ।
‘मेरिबास्सै’को ९ सय २३ भागबाट राजुले निर्देशन र लेखनको जिम्मेवारी सम्हाल्नेछन् । उनी नयाँ कथाबाट सिरियल अगाडी बढाउने तयारीमा छन् । उनी सहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) ले सिरिलमा अभिनय गर्नेछन् ।
अन्य कलाकारहरु रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतको अभिनय रहनेछ ।