पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द

कार्तिक १८ एजेन्सी ___ पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् । एक करोड ४० लाख जनसङ्ख्या भएको यो सहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषणको मिश्रणले ढाकिएको छ । ​

प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्क, शनिबार एक हजार भन्दा बढी अर्थात् ‘खतरनाक’ मानिएको ३०० को स्तर भन्दा धेरै माथि पुगेको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ । ​पन्जाब सरकारले पनि आइतबार वायु गुणस्तर सूचकाङ्क शनिबार एक हजार भन्दा बढी पुगेको जनाएको छ ।

‘आगामी ६ दिनको मौसम पूर्वानुमानले हावाको ढाँचा उस्तै रहने देखाएको छ। त्यसैले हामी लाहोरका सबै सरकारी र निजी प्राथमिक विद्यालय एक हप्ताका लागि बन्द गर्दैछौं,’ लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले बताएका एएफपीले लेखेको छ ।

स्थानीय सरकारको निर्णयमा सोमबारदेखि शनिबारसम्म एक हप्ताका लागि बन्द रहने छन् । निर्णयअनुसार १० वर्षको उमेरसम्मका बच्चाहरूको लागि ‘सबै कक्षाहरू’ सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन् । निर्णयमा विद्यालय बन्द गर्ने वा बन्द नबढाउने भन्ने विषयमा आगामी शनिबार पुनः अवस्थाको समीक्षा गरिने उल्लेख छ ।​

पन्जाबका वरिष्ठ मन्त्री मरियम औरङगजेबले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले माथिल्ला कक्षाका बालबालिकाको स्वास्थ्यमा पनि नजर राखेका छौं। यो धुवाँ बालबालिकाका लागि निकै हानिकारक हुन्छ । विद्यालयमा मास्क अनिवार्य गर्नुपर्छ।’

उनले अस्पतालहरूमा प्रदूषणबाट प्रभावितहरूको उपचारलाई ध्यान दिँदै छुट्टै काउन्टर स्थापना गरिएको जानकारी दिए । ​​ डब्लूएचओका अनुसार विषाक्त हावामा सास फेर्दा स्वास्थ्यमा घातक असर पर्छ वा लामो समयसम्म सम्पर्कमा रहँदा स्ट्रोक, मुटुरोग, फोक्सोको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।

Comments (0)
Add Comment