भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।

राति करिब २ बजे उनको शव अस्पतालबाट उनको घर कोलाबामा लगिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा लेखेकी छिन्, ‘रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति भएको र उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको बताएका छन् ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । सन् २००८ मा रतन टाटाले पद्म विभूषण, भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार प्राप्त गरेका थिए । यसअघि सन् २००० मा उनलाई पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

Comments (0)
Add Comment