क्वालालम्पुर — पिएनसीसी मलेसियाको आयोजनामा “मलेसियाको अध्यागमन कानुन” तथा “श्रम स्वीकृति नवीकरण” विषयक दुई दिने अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम ३१ जनवरी शनिबार र १ फेब्रुअरी आइतबार मझेरी रेस्टुरेन्टको हलमा सम्पन्न भएको हो।
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा शनिबार सम्पन्न पहिलो दिनको कार्यक्रम “मलेसियाको अध्यागमन कानुन” विषयमा केन्द्रित थियो। सो अवसरमा बार काउन्सिल सदस्य तथा अध्यागमन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका मिस्टर सिआर सिल्भाले स्रोत व्यक्ति रूपमा प्रस्तुति दिनुभएको थियो। उहाँले इमिग्रेसन एक्ट अन्तर्गतका सेक्सन ५१(५)(६), सेक्सन ३४ र सेक्सन ३५ सम्बन्धी कानुनी प्रावधानहरूबारे विस्तृत चर्चा गर्दै सहभागीहरूलाई अभिमुखीकरण तथा सचेतना प्रदान गर्नुभयो।
त्यसैगरी, १ फेब्रुअरी आइतबार सम्पन्न दोस्रो दिनको कार्यक्रम “श्रम स्वीकृति नवीकरण” विषयमा केन्द्रित रहेको थियो। उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका श्रम काउन्सिलर एवं उपसचिव कृष्ण भुसाल प्रमुख स्रोत व्यक्ति रहनुभएको थियो। करिब सवा चार लाख नेपाली श्रमिकहरूको अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आउनुभएका भुसालले श्रम स्वीकृति नवीकरणको प्रक्रिया, त्यसका लाभ तथा व्यावहारिक पक्षहरूबारे जानकारी दिनुभयो। साथै, दूतावासको संरचना, कार्यशैली तथा श्रमिकसँग सम्बन्धित विविध समस्याहरूका बारेमा उठेका प्रश्नहरूको समेत स्पष्ट जवाफ दिनुभएको थियो।
कार्यक्रममा विशेष गरी नेपाली श्रमिकलाई लक्षित गर्दै यस्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रमहरू पीएनसीसीको मेरिड्यु परियोजना अन्तर्गत निरन्तर सञ्चालन हुँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने परियोजना संयोजक रेखा लिङदमले जानकारी दिनुभयो।
दुई दिने कार्यक्रमको समापन गर्दै पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले भन्नुभयो,
“संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरू माझ यस प्रकारको कार्यक्रम आयोजना गर्नुको उद्देश्य, यहाँ प्राप्त जानकारी सम्बन्धित समुदायसम्म पुर्याउनु हो। यस कार्यक्रममा सहभागी प्रतिनिधिहरूबाट त्यो भूमिका निर्वाह हुने विश्वास पीएनसीसीले राखेको छ।”
