जोहोर (मलेसिया) –
नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोरद्वारा आयोजित “दोस्रो भौतिक बैठक तथा बृहत प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। “आदिवासी जनजातिको अधिकार, समानता र पहिचान हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूबीच एकता, संगठन सुदृढीकरण र नेतृत्व विकासका विषयमा गहिरो छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सन्तोष ठान्टीज्यूले गर्नुभएको थियो।
उहाँले उद्घाटन मन्तव्यमा भन्नुभयो —
“हामी सबै आदिवासी जनजातिहरू एकै धागोमा बाँधिएका छौं। हाम्रो पहिचान, भाषा र संस्कृति जोगाउँदै संगठनलाई बलियो बनाउन यो कार्यक्रम मीलको ढुङ्गा सावित हुनेछ।”
त्यस्तै, प्रमुख अतिथि विपिन राईज्यूले प्रशिक्षण सत्रमार्फत संगठनात्मक व्यवहार, समन्वय, नेतृत्व क्षमता र सदस्यहरूको भूमिकाबारे व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले विशेष गरी प्रवासमा रहेका जनजातिहरूबीच आपसी समझदारी, साझा अभियान र नेटवर्किङ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 
विशिष्ट अतिथि पदमराज लिम्बुज्यूले महासङ्घको भूमिकाबारे जानकारी दिँदै भन्नुभयो
“मलेसियामा रहेका विभिन्न जातीय संगठनहरूबीच सहकार्य र एकता अझ मजबुत बनाउनु अहिलेको आवश्यकता हो। यो प्रशिक्षण कार्यक्रमले त्यस दिशामा टेवा पुर्याउनेछ।”
कार्यक्रममा विभिन्न संघ–संस्था, मिडियाकर्मी, र समाजसेवीहरूको सहभागिताले वातावरण उत्साहजनक बनेको थियो। सहभागीहरूले कार्यक्रमलाई साँस्कृतिक चेतना, संगठनात्मक सुदृढीकरण र भावी नेतृत्व तयारीको साझा प्लेटफर्मका रूपमा मूल्याङ्कन गरेका थिए।
समापन सत्रमा महासङ्घका अध्यक्ष सन्तोष ठान्टीज्यूले सम्पूर्ण अतिथि, सहयोगी र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो —
“हाम्रो लक्ष्य मलेसियामा मात्र सीमित छैन। हामी विश्वभर रहेका आदिवासी जनजातिहरूको आवाज बन्ने अभियानमा छौं।”
कार्यक्रमको समापन समूहगत तस्वीर खिच्दै एकता र सहकार्यको सन्देशका साथ गरिएको थियो।
