मलेसियाली नागरिकसँग छुट्टिएका विदेशी पति–पत्नी अब ‘रेसिडेन्ट पास’ लिएर बस्न पाउने: गृहमन्त्री सैफुद्दिन।
क्वालालम्पुर (मलेसिया):= मलेसियाली नागरिकसँग वैवाहिक सम्बन्धमा रहेर पछि केहि कारणबँस छुट्टिएका गैर–नागरिक पति वा पत्नीले अब रेजिडेन्ट पास (Resident Pass) का लागि आवेदन दिन सक्ने भएका छन्, जसले उनीहरूलाई मलेसियामा बस्न र काम गर्न अनुमति दिनेछ।
मलेसिया सरकारको गृह मन्त्री दातुक श्री सैफुद्दिन नासुसन इस्माइलका अनुसार उक्त पासले सम्बन्धविच्छेद वा अलग्गिएका गैर–नागरिकहरूलाई औपचारिक वा स्वरोजगार क्षेत्रमार्फत आफू र आफ्ना आश्रितहरूलाई आर्थिक रूपमा सहयोग गर्न अवसर प्रदान गर्ने विश्वास लिएको छ ।
उनका अनुसार, “रेजिडेन्ट पास पाँच वर्षका लागि मान्य हुन्छ र सम्बन्धित अधिकारीको स्वीकृतिमा पुनः नवीकरण गर्न सकिन्छ।” सरकारले यस्तो आवेदनका क्रममा मलेसियाली नागरिक सन्तानको हित र कल्याणलाई प्राथमिकता दिने जनाएको छ, जसले तिनीहरूको हक र अभिभावकत्व सुनिश्चित गर्न सहयोग गर्छ।
सैफुद्दिनले यो विवरण संसदमा सांसद डॉ. मोहम्मद तौफिक जोहरी (PH–सुङ्गाई पेटानी) को प्रश्नको जवाफमा दिएका हुन्, जसले गैर–नागरिक पति–पत्नीका लागि नयाँ अनुमति प्रक्रियाको योग्यता, समयावधि र शर्तबारे जानकारी मागेका थिए।
गैर–नागरिक पति–पत्नीले मलेसियाली नागरिकसँग विवाह गरेपछि सामाजिक भ्रमण पास (Social Visit Pass) का लागि आवेदन दिन पाउँछन्, जसले उनीहरूलाई कानूनी रूपमा देशमा बस्न र आप्रवासन विभागको स्वीकृतिपछि काम गर्न अनुमति दिन्छ।
यो पास हरेक वर्ष नवीकरण गर्न सकिन्छ, तर वैवाहिक सम्बन्ध कानूनी रूपमा कायम रहनु र दुवै जना सँगै बस्नु पर्ने शर्त लागू हुन्छ। तर, यदि दुवै अलग्गिएका वा सम्बन्धविच्छेद भएको अवस्थामा ती व्यक्तिहरू उक्त पासका लागि अब अयोग्य ठहरिन्छन्।
गृह मन्त्रीले भने, “यी अवस्थामा सम्बन्धविच्छेद वा वैध रूपमा छुट्टिएका विदेशी पति–पत्नीले विधवा/विधुर पास (Widow/Widower Pass) का लागि आवेदन दिन सक्छन्, वा विकल्पका रूपमा रेजिडेन्ट पास प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।”
सैफुद्दिनका अनुसार, यो नीति मादानी सरकारको मानवीय मूल्य र सामाजिक कल्याणमा आधारित दृष्टिकोणसँग मेल खाने कदम हो, जसले विदेशी पति–पत्नीलाई कानूनी रूपमा आफ्ना मलेसियाली सन्तानको जिम्मेवारी निरन्तररूपमा वहन गर्न सक्षम बनाउँछ।
